Section 5
सपुर्दगी गर्न इन्कार गरिने अवस्था

दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा कुनै पनि फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गरिने छैनः –

(क) फरार अभियुक्त वा कसूरदारले गरेको कसूर राजनीतिक प्रकृतिको भएमा,

(ख) जात, जाति, वर्ण, धर्म, राष्ट्रियता वा राजनीतिक विचारधाराको आधारमा कुनै कसूरका सम्बन्धमा कारबाही चलाइएको वा कारबाही चलाइने सम्भावना भएमा,

(ग) जात, जाति, वर्ण, धर्म, राष्ट्रियता वा राजनीतिक विचारधाराबाट पूर्वाग्रही भई मुद्दाको सुनुवाई गरिएको वा सुनुवाई गरी सजाय गरिने सम्भावना भएमा,

(घ) मृत्युदण्डको सजाय भएको वा मृत्युदण्डको सजाय हुन सक्ने गरी अभियोग लागेको भएमा,

(ङ) नेपालको नागरिक भएमा,

(च) माग गर्ने राज्यको सैनिक कानून अन्तर्गत सजाय हुने कसूर भएमा,

(छ) माग गर्ने राज्यमा फरार अभियुक्त वा कसूरदारलाई शारीरिक वा मानसिक यातना दिने पर्याप्त सम्भावना भएमा,

(ज) जुन कसूरको सम्बन्धमा सपुर्दगीको माग गरिएको हो सोही कसूरमा नेपालको अदालतले निर्णय गरिसकेको भएमा,

(झ) फरार अभियुक्त वा कसूरदार विरुद्ध नेपालको कुनै अदालतमा कुनै फौजदारी कसूरमा मुद्दाको कारबाही भईरहेको वा निज कसूरदार ठहरिई सजाय भुक्तान भई नसकेको भएमा,

(ञ) माग गर्ने राज्यको अधिकार प्राप्त अधिकारीले मुद्दा वा सजायको कारबाही नचलाउने वा सजाय माफी गर्न निर्णय गरिसकेको भएमा,

(ट) माग गर्ने राज्यको कानून बमोजिम कारबाही चलाउने हदम्याद समाप्त भइसकेको भएमा,

(ठ) माग गर्ने राज्यको कानून बमोजिम सजायको उन्मुक्तिको सुविधा प्राप्त भएको व्यक्ति भएमा ।